नमो बौद्ध गुम्बा र तामाङ्ग कल्याण समाज बिर्तामोडको संयुक्त साधारण सभा सम्पन्न
१३ असार,बिर्तामोड
नमो बौद्ध गुम्बाका अध्यक्ष हस्तबहादुर तामाङको अध्यक्षतामा गुम्बाको साधारण सभा तथा तामाङ कल्याण समाज बिर्तामोडका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा समाजको साधारण सभा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड–४ का वडा अध्यक्ष राहुल शर्माको गरिमामय उपस्थिति रहेको थियो। राष्ट्रगानबाट शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि शर्माले दीप प्रज्वलन गर्दै संयुक्त साधारण सभाको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा गुम्बाको दैनिक पूजा–पाठका लागि आवश्यक सामग्री सहयोग गर्दै आउनुभएकी बिर्तामोड–५ निवासी मनमाया तामाङलाई प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्षहरूले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।
गुम्बाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै गुम्बाका अध्यक्ष हस्तबहादुर तामाङले गुम्बाको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक र भक्तजनप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सबैसँग समन्वय र सहकार्य गर्दै गुम्बाको दिगो विकासमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, गुम्बाका महासचिव गणेश तामाङले आर्थिक वर्ष २०८१/८२ को रु. ४,०५,१८१ तथा आर्थिक वर्ष २०८२/८३ का लागि रु. १८,१०,१९२ को अनुमानित बजेट सभामा प्रस्तुत गर्नुभयो।
त्यसैगरी, तामाङ कल्याण समाज बिर्तामोडको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै समाजका अध्यक्ष गणेश तामाङले बिर्तामोड तथा आसपासका क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायको हित, सामाजिक एकता, भाषा, धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि समाजले विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो। कार्यक्रममा समाजका कोषाध्यक्ष पवित्रा बम्जनले आर्थिक वर्ष २०८१/८२ को रु. १,६५,६६८ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो।
कार्यक्रममा गुम्बाका सल्लाहकार गोविन्द तामाङ, जग्गादाता जितेन्द्र राजवंशी, नमो बौद्ध गुम्बाका लेखा संयोजक शुक बल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै गुम्बा तथा समाजले धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो।
प्रमुख अतिथि राहुल शर्माले नमो बौद्ध गुम्बा बिर्तामोडकै एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा जनमानसमा परिचित हुँदै गएको उल्लेख गर्दै यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि बिर्तामोड नगरपालिकाअन्तर्गत वडा कार्यालयको तर्फबाट आगामी दिनमा आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बिर्तामोड–४ का वडा सदस्य केशव श्रेष्ठ, गुम्बाका प्रमुख पूजारी रामसिंह घिसिङ, नेपाल तामाङ धेदुङका पूर्व संघीय सदस्य पदमबहादुर तामाङ, नेपाल तामाङ घेवुड बिर्तामोड नगर उपाध्यक्ष तारा चाम्लिङ, नेपाल तामाङ धेदुङ जिल्ला समन्वय समिति सदस्य सूर्यमान तामाङ, नेपाल तामाङ धेदुङका अन्य पदाधिकारी, समाजसेवी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल तामाङ धेदुङ महिला अध्यक्ष हेमकला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव टिकाराज घिसिङले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा दुवै संस्थाका अध्यक्ष हस्तबहादुर तामाङ र गणेश तामाङले साधारण सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, शुभेच्छुक, सहयोगी तथा सहभागीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

Comments
Post a Comment