जनकपुर घटनाको बिरोधमा श्रम संस्कृति पार्टीको झापामा पत्रकार सम्मेलन
७ श्रावण,झापा
बिर्तामोड, झापा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष माननीय हर्क साम्पाङ तथा पार्टीका कार्यकर्तामाथि हिजो जनकपुरधामस्थित रामजानकी मन्दिर परिसरमा भएको दुर्व्यवहारको घटनाप्रति श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाले घोर भर्त्सना गरेको छ। घटनाको विरोध गर्दै आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीले दोषीमाथि निष्पक्ष छानबिन तथा कडा कानुनी कारबाहीको मागसहित औपचारिक विज्ञप्ति सार्वजनिक गरेको हो।
श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन राष्ट्रिय गान तथा देशका शहीदहरूप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको थियो।
कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव शिवम सोराली मगरले गर्नुभएको थियो भने सहसचिव अन्जु लिम्बुले संयुक्त रूपमा विज्ञप्ति वाचन गर्दै जनकपुरमा पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङमाथि भएको दुर्व्यवहारप्रति श्रम संस्कृति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो।
विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरिएको छ। साथै धार्मिक स्वतन्त्रता, नागरिकको सुरक्षा र संविधानप्रदत्त मौलिक अधिकारको पूर्ण सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। पार्टीले सम्पूर्ण नागरिकलाई शान्ति, संयम, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नसमेत अपिल गरेको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष केशव भण्डारीले उक्त घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभयो। यस्ता अमर्यादित र असहिष्णु गतिविधि भविष्यमा दोहोरिन नहुने भन्दै सम्बन्धित पक्षलाई चेतावनीसमेत दिनुभयो।
त्यसैगरी पार्टीका केन्द्रीय सदस्य हिमालय प्रसाद कन्दङ्गवाले श्रम संस्कृति पार्टीको बढ्दो लोकप्रियताप्रति केही तत्वहरू आक्रोशित भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। कुनै पनि प्रकारका उक्साहट, हिंसा वा दुर्व्यवहारबाट पार्टी विचलित नहुने स्पष्ट पार्दै कानुनी र लोकतान्त्रिक बाटोबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूले घटनासँग सम्बन्धित विभिन्न जिज्ञासा तथा समसामयिक राजनीतिक विषयमा प्रश्न उठाएका थिए। ती प्रश्नहरूको जवाफ जिल्ला अध्यक्ष केशव भण्डारी र केन्द्रीय सदस्य हिमालय प्रसाद कन्दङ्गवाले दिनुभएको थियो।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य सनमान तामाङ, शसिता राई, मोहन माबो, मेचीनगर अध्यक्ष पदम सुनुवार, बुद्धशान्ति गाउँपालिका अध्यक्ष देउकुमार राई, दमक नगर अध्यक्ष पूजालक्ष्मी गुरुङ, बिर्तामोड नगर अध्यक्ष सुबास तामाङ, भद्रपुर नगर अध्यक्ष नरदिप योङहाङ, बारदशी गाउँपालिका अध्यक्ष लिलादेव राई लगायत पार्टीका नेता–कार्यकर्ता, सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमार्फत श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाले लोकतान्त्रिक मूल्य–मान्यता, धार्मिक सहिष्णुता, नागरिक अधिकार र कानुनी शासनको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै जनकपुर घटनामा संलग्न दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग पुनः माग गरेको छ।
घटना अनुसार मधेश प्रदेश भ्रमणको क्रममा सांसद हर्क साम्पाङलाई केही व्यक्तिहरुले रामजानकी मन्दिर प्रवेशमा रोक लगाएका थिए।

Comments
Post a Comment