शम्भु राईको साथमा झापामा दुईदिने सांगीतिक महोत्सव हुँदै

 


१५ श्रावण,झापा
आदिवासी जनजाति नेत्रहीन संघ झापाको आयोजनामा आगामी असोज २४ र २५ गते राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित झापाको शिवसताक्षी र दमकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रमको उद्देश्य,तयारी तथा व्यवस्थापनबारे जानकारी गराउन आज संघले शिवसताक्षी–८, झिलझिलेस्थित सत्ताक्षी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको हो।

संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले संघको व्यवस्थापनलाई थप सुदृढ बनाउने तथा छात्रवृत्ति अक्षय कोष वृद्धि गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले कार्यक्रम सफल भए संस्थाको आर्थिक अवस्था मजबुत हुनुका साथै संघको गतिविधि, उद्देश्य र सामाजिक योगदानबारे व्यापक प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा संघकी कोषाध्यक्ष कौशल्या देवी गुरुङले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नागरिक समाज,शुभेच्छुक, सहयोगी तथा सरोकारवाला निकायसँग साथ,सहयोग र सहभागिताका लागि हार्दिक आग्रह गर्नुभयो। त्यसैगरी संघका सहसचिव कबिराज कुमालले पनि कार्यक्रमको सफलताका लागि सबै क्षेत्रबाट सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागी हुन अनुरोध गर्नुभयो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मी सेलिङ केसी,लिलाराज झापाली,गगन ताङ्साङ, बिनोद सापकोटा,किशोर राई,विष्णु श्रेष्ठ, सर्जु "संसार" लगायतले कार्यक्रमको तयारी,चुनौती,अवसर तथा अपेक्षित उपलब्धिबारे विभिन्न जिज्ञासा राख्नुभएको थियो।

उक्त जिज्ञासाको सटिक जवाफ दिँदै अध्यक्ष तामाङले कार्यक्रमबाट करिब रु. १० लाख आम्दानी हुने र रु. ४ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्राप्त आम्दानीमध्ये ६० प्रतिशत रकम संस्थाको व्यवस्थापन तथा ४० प्रतिशत रकम छात्रवृत्ति अक्षय कोषमा लगानी गरिनेछ। हाल छात्रवृत्ति अक्षय कोषमा रु. तीन लाख एकसठ्ठी हजार छ सय चार मौज्दात रहेको र कार्यक्रमबाट प्राप्त हुने थप आम्दानीको ४० प्रतिशत सोही कोषमा थप गरिने जानकारी पनि उहाँले दिनुभयो।

उहाँले लक्ष्यअनुसार कार्यक्रम सफल भए संघ आर्थिक रूपमा थप स्वावलम्बी बन्ने, संस्थागत विकासले गति लिने तथा नेत्रहीन समुदायको हितमा सञ्चालन गरिने विभिन्न कार्यक्रमलाई निरन्तरता दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो।

पत्रकार सम्मेलनमा अध्यक्ष तामाङ्गले कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निर्वतमान कुलपति भूपाल राईको गरिमामय उपस्थिति रहने जानकारी दिनु भयो। साथै राष्ट्रिय गायक कुबेर राईसहित शिवसताक्षीका दुई जना ज्येष्ठ नागरिक (एक पुरुष र एक महिला) तथा दमकको कार्यक्रममा पनि दुईजना जेष्ठ नागरिकका साथै नेपालको दोस्रो महिला तबला वादक यशोदा शाक्यलाई सम्मान गरिने बताउनु भयो।

त्यसैगरी संघका तीन जना प्रतिभावान  गायिका तथा बिहानी कला केन्द्र दमक शाखाका एकजना प्रशिक्षार्थी समेतलाई गायक शम्भू राईसंग गीत गाउने अवसर प्रदान गरिने, कार्यक्रममा अपाङ्गता रोकथामसम्बन्धी चेतनामूलक नाटक, आकर्षक संगिनी लोक नृत्य र बिभिन्न जातजातिको झाँकी समेत प्रश्तुत गरिने,बिहानी कला केन्द्र दमकको विशेष सांगीतिक प्रस्तुति तथा निःशुल्क गीत रेकर्डिङसम्बन्धी सम्झौतापत्र सार्वजनिक गरिने कार्यक्रम पनि रहेको उहाँको भनाई थियो।

कार्यक्रमका लागि रु. १,०००, रु. ५०० र रु. १०० दरका टिकट व्यवस्था गरिएको छ। कार्यक्रममा करिब एक ठाउँमा ५००-१००० दर्शक भित्र्याउने लक्ष्य राखिएको, साथै नयाँ छात्रवृत्ति अक्षय कोषदाताहरुको नामसमेत सार्वजनिक गरिने तामाङले बताउनु भएको छ।

टिकट बिक्री संयोजकका रूपमा दमक क्षेत्रमा प्राज्ञ सुमित्रा बाङ्देल (चेली), शिवसताक्षी–९ मा वडा अध्यक्ष डिल्लीलाल फेम्बु,शिवसताक्षी–१० मा गैडे सामुदायिक वनका अध्यक्ष राम लावती तथा शिवसताक्षी–११ (दुधे) मा दुधे बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्रालाई जिम्मेवारी दिइएको जानकारी पनि तामाङ्गले दिनु भएको छ। साथै टिकट बिक्रि बितरण कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने व्यक्ति र संघसंस्थाहरुलाई प्रशंसापत्र बितरण गर्ने समेत उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा तामाङ्गले कार्यक्रमका मुख्य प्रायोजक,प्रायोजक,सह प्रायोजक र सहयोगी संस्थाहरुको खोजी कार्य तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिदै मिडिया पार्टनारको रूपमा दमकको लागि उज्यालो खबर अनलाईन र सारा सन्देश अनलाईन कमल गाँउपालिकाको लागि केर्खा हिलेहाङ्ग अनलाईन,शिवसताक्षी नगरपालिकाको लागि सताक्षी साप्ताहिक, कन्काई नगरको लागि कन्काई अनलाईन र बिर्तामोडको लागि पूर्वाञ्चल दैनिकका साथै सर्जु अनलाईन (ओरिजिनल रिपोर्टर) लाई राखिएको बताउनु भयो ।

संस्थागत  रूपमा आयोजना गरिने यस्ता सांगीतिक कार्यक्रमले समाजमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक संस्थाहरूलाई आर्थिक रूपमा सबल,आत्मनिर्भर र दीगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया