बिर्तामोडमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न
२४ श्रावण,झापा
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोड, झापाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस बिर्तामोडमा भव्यता र उत्साहका साथ सम्पन्न भएको छ।
“प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता” तथा “आदिवासी जनजातिको पहिचान, स्वायत्तता र अधिकारको पूर्ण ग्यारेन्टी गरौँ” भन्ने मूल नाराका साथ आइतबार झापाको बिर्तामोडमा ३२औँ विश्व आदिवासी दिवस मनाइएको हो।
दिवसलाई सफल र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जातजातिका झाँकीसहित र्याली निकालिएको थियो। “यूएनडीपी र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर”, “३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सफल पारौँ” लगायतका नारा र प्लेकार्डसहितको र्याली बिर्तामोडको मुक्ति चोकस्थित हनुमान सेन्टरमा भेला भएको थियो।
त्यसपछि विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नाराबाजी तथा प्लेकार्डसहित र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो। नगर परिक्रमा पश्चात् र्याली सिटी सेन्टर पुगेर सभामा परिणत भएको थियो। र्यालीको नेतृत्व संघका कोषाध्यक्ष सिके बेघाले गर्नुभएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गर्नुका साथै सहिदहरूप्रति एक मिनेट मौन धारण गरी सम्मान गरिएको थियो। त्यसपछि आदिवासी गीत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक तथा मौलिक नृत्य प्रस्तुत गरिएका थिए। साथै कार्यक्रममा सहभागी अतिथि तथा विशिष्ट व्यक्तिहरूलाई मायाको चिनोसमेत वितरण गरिएको थियो।
कार्यक्रममा बिर्तामोड वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेफिन झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, गनगार्ह समाज नगर अध्यक्ष द्रौपदी गणेश, राजवंशी समाज विकास समिति अध्यक्ष सिरतलाल राजवंशी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, सामाजिक व्यक्तित्व सुवास भट्टराई, मनु खेवाङ लगायतले आदिवासी जनजातिको हकहित, अधिकार, पहिचान, संस्कृति तथा राज्यका विभिन्न संरचनामा समान सहभागिताका विषयमा खुलेर आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले एक जातिको धर्म, संस्कृति र परम्परालाई अर्को जातिले सम्मानको दृष्टिकोणले हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विविध जातजाति, भाषा, धर्म र संस्कृतिको सम्मान तथा संरक्षणबाट मात्रै समावेशी समाज निर्माण गर्न सकिने बताउँदै ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको शुभकामना दिनुभयो।
कार्यक्रमलाई समापन गर्दै नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीले दिवसलाई भव्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ–संस्था, जातीय संगठन, स्थानीय तह, सुरक्षा निकाय तथा शुभेच्छुकहरूप्रति कृतज्ञता प्रकट गर्नुभयो।
कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाई, बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड इलाका प्रहरी प्रमुख सन्तोष पाठक, शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, विभिन्न जातीय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत संघकी उपाध्यक्ष देवीमाया श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सचिव लीलाबहादुर गुरुङ र अन्जना राईले गर्नुभएको थियो।
समग्रमा, ३२औँ विश्व आदिवासी दिवसले झापाको बिर्तामोडमा रहेका विभिन्न आदिवासी जनजाति समुदायलाई आफ्नो पहिचान, भाषा, धर्म, संस्कृति तथा हक–अधिकारको संरक्षणका लागि एकजुट हुनुपर्ने सन्देश दिएको देखिन्थ्यो। विभिन्न जातजातिका मौलिक झाँकी, सांस्कृतिक प्रस्तुति, नाराबाजी र र्यालीमा देखिएको उत्साहले आदिवासी जनजाति समुदाय आफ्नो अधिकारको संरक्षण र प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संगठित रूपमा अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट संकेत गरेको महसुस गर्न सकिन्थ्यो।

Comments
Post a Comment