बिर्तामोडमा नेवार समुदायको गाईजात्रा (सापारु) तथा लाखे नाँच प्रतियोगिता सम्पन्न
१३ भदौ, बिर्तमोड
कार्यक्रममा लाखे नाच प्रतियोगितासँगै हास्यव्यंग्य कविता, स्वागत नृत्यलगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो। परम्परा, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै सामाजिक विकृति–विसंगतिविरुद्ध सचेतना फैलाउने उद्देश्यसमेत कार्यक्रमले बोकेको आयोजकको भनाइ छ।
कार्यक्रम संयोजक तथा नेवा देयः दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको बिहानी सत्रमा बिर्तामोडको वान स्टप मलमा बिर्तामोडका विभिन्न वडाबाट आएका सहभागीहरू भेला भएका थिए। सहभागीहरूले लाखे नाचसहितका सांस्कृतिक झाँकी र ब्यानर बोकेर बिर्तामोड नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा गर्दै सिटी सेन्टर पुगेको र्याली सभामा परिणत भएको थियो।
नेवा देयः दबू बिर्तामोड नगर समितिका कार्य बाहक अध्यक्ष जङ्गबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। नेवा देयः दबू कोशी प्रदेश सदस्य भरतकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले दीप प्रज्वलन, ब्यानर वाचन तथा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा बिर्तामोड वडा नं. ३ का सुमन श्रेष्ठ र आयुषा प्रधानको टोलीले स्वागत नृत्य प्रस्तुत गरेको थियो। त्यसैगरी राष्ट्रिय गान, नेवा गान तथा ज्ञात–अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो। गत वर्ष दिवंगत भएका पितृहरूको सम्झनामा स्वस्ति वाचन गर्दै उहाँहरूको चिरशान्तिको कामनासमेत गरिएको थियो।
प्रमुख अतिथि प्रसाईले देशमा अहिले बाढीपीडितले संकट व्यहोर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष गाईजात्रा पर्वलाई हर्षोल्लास र तामझामका साथ नमनाई पितृ उद्धार तथा सांस्कृतिक परम्पराको निरन्तरताका लागि सांकेतिक रूपमा आयोजना गरिएकोमा शुभकामना व्यक्त गर्नुभयो।
सो अवसरमा कार्यक्रम संयोजक इन्द्रबहादुर श्रेष्ठ र अध्यक्ष जङ्गबहादुर श्रेष्ठले प्रमुख अतिथि प्रसाईलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
कार्यक्रममा कबि दुर्गा सिग्देल, कृष्णप्रसाद मिश्र, विकास सिवा, तुलसीप्रसाद भट्टराई, जयप्रसाद आचार्य, राजीव हलवाई, इन्दबहादुर जेष्ठलगायतले हास्यव्यंग्य कविता प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले आफ्ना व्यंग्यात्मक रचनामार्फत समाज तथा सरकारलाई विकृति–विसंगतिबाट टाढा राख्दै सकारात्मक र सभ्य समाज निर्माण गर्नुपर्ने सन्देश दिनुभएको थियो।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. २, ३, ९, ८ लगायतका तथा बाह्रदशी, शिवसताक्षी र अर्जुनधारा नगरपालिकाबाट गरी जम्मा सात वटा टोलीले लाखे नाच प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगितामा बिर्तामोड–८ ले प्रथम स्थान हासिल गर्दै नगद रु. १५ हजार पुरस्कार प्राप्त गरेको छ। बिर्तामोड–९ ले द्वितीय हुँदै रु. १० हजार, बिर्तामोड–२ ले तृतीय हुँदै रु. ५ हजार तथा शिवसताक्षीले सान्त्वना स्थान हासिल गर्दै रु. १ हजार पुरस्कार प्राप्त गरेको हो।
प्रतियोगिताको निर्णायकमा सांस्कृतिक उत्थान समाज धरानका नवीन टमोट, प्रणोज श्रेष्ठ र अनम श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रममा नेवा देयः दबू प्रदेश इन्चार्ज तिलरूपा श्रेष्ठ, कोशी प्रदेश उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य हिमकला श्रेष्ठ, केन्द्रीय सदस्य–सचिव नारायणप्रसाद श्रेष्ठ, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्गवालगायतले मन्तव्य राख्नुभएको थियो।
उहाँहरूले गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्दै पुस्तौँदेखि चलिआएको मौलिक सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै समयअनुसार आवश्यक परिवर्तन र परिमार्जन गर्दै नयाँ पुस्तालाई समेत यस परम्परा र संस्कृतिसँग जोड्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथि तथा विभिन्न व्यक्तित्वहरूलाई कार्यक्रमका अध्यक्ष, संयोजक लगायतले मायाको चिनो प्रदान गर्नुभएको थियो।
कार्यक्रमका संयोजक इन्द्रबहादुर श्रेष्ठले गाईजात्रा तथा लाखे नाच प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, सहभागी टोली, कलाकार, अतिथि तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमका अध्यक्ष जङ्गबहादुर श्रेष्ठले पनि सम्पूर्ण उपस्थितप्रति आभार व्यक्त गर्दै देश अहिले बाढीको चपेटामा परिरहेका कारण यस वर्ष गाईजात्रा पर्वलाई सांकेतिक रूपमा मात्र सम्पन्न गरिएको बताउनुभयो। उहाँले यस्तो विषम परिस्थितिमा विगतमा जस्तो तामझाम र भव्यताका साथ पर्व नमनाइएको स्पष्ट पार्नुभयो ।
नगर उपाध्यक्ष मन कुमारी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको संचालन नगर सचिव दिलिप प्रधानले गर्नुभएको हो।
परम्परागत संस्कृति र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, हास्यव्यंग्य कविता तथा सामूहिक लाखे नाचले थप रौनकता प्रदान गरेको थियो। गाईजात्रामार्फत दिवंगत पितृहरूको सम्झना, सामाजिक विकृति–विसंगतिविरुद्ध व्यंग्यात्मक सन्देश तथा नेवार समुदायको मौलिक कला–संस्कृतिको प्रदर्शन गरिएको थियो।
यसरी बिर्तामोडमा सम्पन्न गाईजात्रा तथा लाखे नाच कार्यक्रमले विपद्को संवेदनशील अवस्थाबीच पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन सकिने सन्देश दिएको छ।
Comments
Post a Comment