बाबाको बाँसुरी एउटा टुहुरोको कथा चलचित्रको असोज १० र ११ गते च्यारिटी शो हुने
असोज १ झापा
चलचित्रको सम्पूर्ण छायांकन तथा प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। चलचित्रको च्यारिटी शो आगामी असोज १० गते धुलाबारीस्थित कृष्ण पार्टी प्यालेस हलमा तथा असोज ११ गते बिर्तामोडस्थित पाथिभरा सिने प्लाजामा आयोजना गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
समाजमा विद्यमान धनी र गरिबबीचको सामाजिक भेदभावलाई कथावस्तुको मुख्य आधार बनाएर चलचित्र तयार गरिएको निर्माता तथा नायक तथा गायक पूर्ण सुनारले जानकारी दिनुभयो। सामाजिक विषयवस्तुलाई पर्दामा प्रस्तुत गरिएको चलचित्रको छायांकन झापा जिल्लाका विभिन्न रमणीय स्थलहरू अर्जुनधारा–३, अर्जुनधारा–२, झापा–इलामको सीमावर्ती क्षेत्र,दुधे तथा कनकाई नदीको तट लगायतका स्थानमा गरिएको उहाँले बताउनुभयो।
निर्देशक कमल लिम्बु (लाहुरे) को अनुसार चलचित्रको कथावस्तु सामाजिक भए पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले द्वन्द्व, संगीतलगायतका विविध पक्षको समिश्रण गरिएको छ। सामाजिक विषयलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देशसमेत दिने निर्देशक लिम्बुले बताउनुभयो।
कार्यक्रममा चलचित्रकी नायिका सितल खनालले चलचित्र छायांकनका क्रममा आफूले भोगेका तिता–मिठा अनुभवहरू सुनाउँदै चलचित्र उत्कृष्ट बनेको बताउनुभयो।
चलचित्रका कलाकार बिपिन प्रसाईले आफूले आफ्नो कलाकारितामार्फत चलचित्रलाई पूर्ण न्याय दिने प्रयास गरेको बताउँदै चलचित्र दर्शकले हेर्न लायक रहेको जानकारी दिनुभयो।
कलाकार राजा कन्दङ्वाले समेत चलचित्रमा अभिनय गर्न पाउँदा आफूलाई फरक अनुभव भएको बताउँदै समाजलाई एउटा उत्कृष्ट चलचित्र प्रदान गर्न सकेको अनुभूति साझा गर्नुभयो।
चलचित्रमा कथा,पटकथा तथा निर्देशन कमल लिम्बु (लाहुरे) को रहेको छ। गीत रचना, संगीत तथा स्वर पूर्ण सुनारको रहेको छ भने स्वरमा ममता गुरुङले समेत साथ दिनुभएको छ। चलचित्रको छायांकन तथा सम्पादन तिलक रिजालले गर्नुभएको छ।
चलचित्रमा पूर्ण सुनार,सितल खनाल,बिपिन प्रसाई,राजा कन्दङ्वा, ओम सेन्चुरी, काजी बराइली,तिलक रिजाल, कल्पना मगर,दिलकुमार नेम्बाङ,कमल लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन्।
म्युजिक भिडियो लगायत विभिन्न चलचित्रमा अभिनय गर्दै आउनुभएका निर्माता पूर्ण सुनारको यो दोश्रो प्रस्तुति हो। चलचित्र निर्माणमा आफ्नो तर्फबाट सक्दो मेहनत गरिएको बताउँदै निर्माता सुनारले ‘बाबाको बाँसुरी एउटा दुहुरोको कथा’ हेरेर सकारात्मक प्रतिक्रिया तथा सुझाव दिन दर्शक तथा शुभेच्छुकहरूलाई अपिल गर्नुभएको छ। साथै ट्रेलर पूर्ण सुनार यूट्यूब च्यानलमा हेर्न सकिने बताईएको छ ।
करिब १ घण्टा ४५ मिनेट लामो सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले समाजमा रहेको आर्थिक तथा सामाजिक विभेदलाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयमा दर्शकको चासो रहने देखिन्छ। असोज १० र ११ गते हुने च्यारिटी शोबाट प्राप्त हुने खम मध्ये १५ प्रतिशत रकम रसुवा बाढी पिडितलाई दिईने निर्माता सुनारले घोषणा समेत गरेका छन्।
सकारात्मक प्रतिक्रियाले चलचित्र निर्माण पक्षका लागि थप महत्वपूर्ण हुने अपेक्षा गरिएको र चलचित्र हेरिदिन समेत सबैलाई निर्माण पक्षले आब्हान गरेको छ।
पत्रकार सम्मेलनको सहजीकरण पत्रकार सन्तोष बेघाले गर्नु भएको थियो ।
Comments
Post a Comment