शम्भु राईको एकल गायन कार्यक्रमको अन्तिम तयारी पूरा

 

२० असोज,दमक 

आदिवासी  जनजाति नेत्रहिन संघको आयोजनामा संघले स्थापना गरेको झापाली छात्रवृत्ति सहारा अक्षय कोष वृद्धि तथा संस्थाको व्यवस्थापनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना हुन लागेको वरिष्ठ लोकगायक शम्भु राईको एकल गायन कार्यक्रमको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ।

आगामी असोज २४ गते शिवसताक्षीको झिलझिले र असोज २५ गते दमकमा आयोजना हुने उक्त एकल गायन कार्यक्रमको तयारीबारे आयोजकले आज दमक–५ स्थित होटल जोर्वा र झिलझिलेस्थित सतासी साप्ताहिकको कार्यालयमा छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो।

दमकमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आयोजकका तर्फबाट संघका सल्लाहकार तथा कार्यक्रमकी आर्थिक संयोजक प्राज्ञ सुमित्रा बाङ्गदेल ‘चेली’ ले केही दाताहरूले खुलेर सहयोग गरे पनि धेरै समाजसेवी तथा दाताहरूबाट अपेक्षाअनुसार सहयोग प्राप्त हुन नसकेको गुनासो व्यक्त गर्नुभयो। उहाँले अभियानको उद्देश्य सामाजिक सेवासँग जोडिएको भएकाले सबै क्षेत्रबाट सहयोग र साथ प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो।

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका समन्वयकर्ता तथा समाजसेवी दुरेन्द्र नेम्बाङ्गले झापाली छात्रवृत्ति सहारा अक्षय कोष वृद्धि र संस्थाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजना गरिएको कार्यक्रम सफल बनाउन सबैलाई आर्थिक तथा नैतिक सहयोगका लागि आह्वान गर्नुभयो।

कार्यक्रमका सह–प्रायोजक समेत रहनुभएका अक्टोपस प्राविधिक तालिम केन्द्र दमक–५ का प्रोपाइटर योगेश उप्रेतीले कार्यक्रममा रु. ५० हजार नगद सहयोग गर्ने घोषणा गर्नुभयो। साथै,आफ्ना दिवंगत पिता स्व. लक्ष्मीप्रसाद उप्रेतीको स्मृतिमा रु. २ लाख बराबरको अक्षय कोषमा सहयोग गर्ने घोषणा पनि गर्नुभयो।

आदिवासी जनजाति नेत्रहिन संघका अध्यक्ष भोजकुमार तामाङ्गले कार्यक्रमको सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको जानकारी दिँदै हालसम्म कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, सहयोगी,शुभेच्छुक तथा सम्बन्धित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गरिने बताउनुभयो।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि रु. १ हजार, ५ सय र ३ सय दरका टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूका लागि रु. १ सय को टिकटको व्यवस्था गरिएको छ।

दमकस्थित कन्काई पार्टी प्यालेसमा असोज २५ गते बिहान ११ बजेदेखि तथा झिलझिलेस्थित वाटर किङ्गडम पार्कमा असोज २४ गते बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

एकल गायन कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथै सम्मान कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ। वरिष्ठ लोकगायक शम्भु राईको विशेष एकल गायन रहने भएकाले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाउने आयोजकको विश्वास छ।

आदिवासी जनजाति नेत्रहिन संघका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघका सदस्यहरू,सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन राजन चापागाईं र देव चापागाईंले गर्नुभएको थियो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन